काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले कम स्पिड र सुपथ मूल्यका इन्टरनेट प्याकेज आगामी असोज १९ गते सोमबारदेखि उपलब्ध गराउन नसक्ने जनाएको छ। संघको यो घोषणासँगै विशेषगरी घरायसी प्रयोजनका लागि सस्तो प्याकेज प्रयोग गर्दै आएका ग्राहकको इन्टरनेट खर्च बढ्ने देखिएको छ।
सस्तो र कम स्पिडका प्याकेज बन्द हुँदा भाडामा बस्ने विद्यार्थी, न्यून आय भएका परिवार तथा सीमित इन्टरनेट प्रयोग गर्ने ग्राहक बढी प्रभावित हुन सक्ने देखिन्छ। उनीहरूले अहिलेसम्म प्रयोग गर्दै आएको सानो प्याकेजको विकल्पमा महँगो वा बढी स्पिडको प्याकेज लिनुपर्ने अवस्था आउन सक्छ।
आइस्पानले सोमबार जारी गरेको विज्ञप्तिमा आगामी असोज १९ गतेदेखि आईएसपीहरूले दिँदै आएका ‘सुपथ मूल्यका र कम स्पिडका प्याकेजहरू’ उपलब्ध गराउन असमर्थ हुने जनाएको हो।
संघले पछिल्लो १२ वर्षमा नेपालले इन्टरनेटको पहुँच र प्रभाव विस्तारमा उल्लेखनीय प्रगति गरेको दाबी गरेको छ। फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा नेपाल दक्षिण एसियामै अगाडि रहेको तथा इन्टरनेट विश्वकै सस्तोमध्ये एक रहेको आइस्पानको भनाइ छ।
सस्तो प्याकेजकै कारण अधिकांश घरदैलोसम्म इन्टरनेट सेवा विस्तार गर्न सम्भव भएको बताउँदै संघले आईएसपीहरूले सकेसम्म सुपथ मूल्यमा सेवा दिँदै आएको जनाएको छ।
तर, पछिल्ला वर्षमा बढेको सञ्चालन लागतका कारण सस्तो प्याकेजलाई निरन्तरता दिन कठिन भएको आइस्पानले जनाएको छ। संघका अनुसार मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य, फाइबरको मूल्यमा भएको वृद्धि, उच्च मुद्रास्फीति तथा एआईको तीव्र विकासका कारण इलेक्ट्रोनिक सामग्री र चिपसेटको मूल्य बढ्दा आईएसपीहरूको सञ्चालनमा दबाब परेको छ।
यी कारणले आईएसपीहरूको अपरेसन सञ्चालन गर्न कठिन भएको भन्दै संघले कम मूल्य र कम स्पिडका प्याकेज बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ।
विद्यार्थी र भाडामा बस्नेलाई बढी असर
इन्टरनेट सेवा प्रदायकहरूले सामान्यतया घरायसी ग्राहकका लागि विभिन्न स्पिड र मूल्यका प्याकेज उपलब्ध गराउँदै आएका छन्। तीमध्ये कम स्पिडका प्याकेज कम इन्टरनेट खपत गर्ने ग्राहकका लागि तुलनात्मक रूपमा सस्तो विकल्प बन्दै आएका छन्।
यस्ता प्याकेज हटाइएपछि थोरै इन्टरनेट आवश्यक पर्ने ग्राहकले पनि बढी स्पिडको प्याकेज लिनुपर्ने अवस्था आउन सक्छ। यसले मासिक इन्टरनेट खर्च बढाउने सम्भावना छ।
विशेषगरी कोठा भाडामा लिएर बस्ने विद्यार्थी, एक–दुई जना मात्र इन्टरनेट प्रयोग गर्ने परिवार तथा अनलाइन कक्षा, सामान्य ब्राउजिङ र सामाजिक सञ्जालका लागि मात्र इन्टरनेट प्रयोग गर्ने ग्राहक प्रभावित हुन सक्नेछन्।
हालसम्म भने कुन–कुन प्याकेज हटाउने र त्यसको सट्टा कस्ता प्याकेज उपलब्ध गराउने भन्ने विषयमा प्रत्येक सेवा प्रदायकले छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न बाँकी छ।
आइस्पानले भने सबै आईएसपीलाई गुणस्तरीय सेवा प्रदान गर्दै डिजिटल नेपालको अभियानमा निरन्तर लाग्न आग्रह गरेको छ। साथै, नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दरअनुसारका शुल्क आफ्नो वेबसाइटमा ग्राहकले सजिलै देख्ने गरी राख्न निर्देशन दिएको छ। संघले ग्राहकलाई अनिवार्य रूपमा भ्याट बिल लिनसमेत अनुरोध गरेको छ।


