काठमाडौं। विदेशमा रहेका गैरआवासीय नेपाली (एनआरएन) को विदेशी मुद्रा नेपाल भित्र्याएर पुँजी बजारमा लगानी गराउने बाटो खुलेको छ। सरकारले धितोपत्रसम्बन्धी नियमावली संशोधन गर्दै एनआरएनलाई लक्षित गरी सेयर निष्कासन र कारोबारको कानुनी आधार तयार गरेसँगै यस्तो लगानीको बाटो खुलेको हो।
सरकारले ‘धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गरेको छ। संशोधित व्यवस्थाले निश्चित प्रकृतिका कम्पनीले गैरआवासीय नेपालीलाई लक्षित गरी सेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ।
नयाँ व्यवस्थाअनुसार नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएका निश्चित प्रकृतिका कम्पनीले आफ्नो जारी पुँजीको न्यूनतम १० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर निष्कासन गर्न सक्नेछन्। यस्तो सेयर प्रिमियम थपेर निष्कासन गर्न भने पाइने छैन।
यस्तो सेयर खरिदका लागि विदेशमा रहेका गैरआवासीय नेपालीले विदेशी मुद्रामा रकम भुक्तानी गर्न सक्नेछन्। यसरी विदेशबाट विदेशी मुद्रा नेपाल भित्र्याएर सेयरमा लगानी गर्ने र लगानीबाट प्राप्त प्रतिफललाई आवश्यक प्रक्रियामार्फत विदेश लैजान सकिने प्रणाली विकास गर्ने तयारी भइरहेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) का एक अधिकारीका अनुसार नियमावली संशोधन भएसँगै एनआरएनलाई लक्षित गरेर सेयर निष्कासन गर्न चाहने कम्पनीलाई कानुनी आधार तयार भएको छ। नियमावली कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता भएसँगै लागू भएको हो।
न्यूनतम एक हजार कित्ता किन्नुपर्ने
एनआरएनलाई लक्षित गरी निष्कासन हुने सेयरको कारोबार धितोपत्र बजारले निर्धारण गरेबमोजिम हुनेछ। तर, कारोबारको न्यूनतम इकाइ १ हजार कित्ता तोकिएको छ।
एनआरएन नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईका अनुसार विदेशबाट सानो परिमाणमा सेयर खरिद गर्दा रकम पठाउने लागत तुलनात्मक रूपमा बढी पर्ने भएकाले न्यूनतम १ हजार कित्ताको व्यवस्था गरिएको हो।
एक हजार कित्तालाई करिब १ लाख रुपैयाँ बराबरको न्यूनतम लगानी एकाइका रूपमा लिन सकिने उनले बताए।
‘बाहिरबाट माग गर्दा १० कित्ता थोरै हुन्छ । पैसा पठाउनका लागि पनि लागत लाग्छ । त्यसैले १ लाख रुपैयाँलाई न्यूनतम लगानीको एकाइका रूपमा लिइएको हो,’ भट्टराईले भने।
विदेशबाट पैसा ल्याउनेदेखि प्रतिफल लैजानेसम्मको प्रणाली
एनआरएनको लगानी सहज बनाउन विदेशी मुद्रासँग सम्बन्धित खाता र लगानी व्यवस्थापन प्रणाली विकास भइरहेको छ। विदेशबाट रकम ल्याउने, सेयरमा लगानी गर्ने तथा लगानीबाट प्राप्त प्रतिफललाई आवश्यक प्रक्रियामार्फत विदेश लैजाने प्रणाली बनाउने तयारी भइरहेको भट्टराईले बताए।
‘रुपी डिनोमिनेटेड फरेक्स एकाउन्ट अर्थात् विदेशी मुद्रासँग सम्बन्धित नेपाली खाताको व्यवस्था हुन्छ । त्यसमा पैसा आउने–जाने व्यवस्था हुनेछ,’ उनले भने।
उनका अनुसार यसका लागि ‘डायस्पोरा व्यवस्थापन प्रणाली’ निर्माण भइरहेको छ। उक्त प्रणालीमार्फत विदेशबाट लगानीका लागि रकम भित्र्याउनेदेखि सेयरमा लगानी गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य छ।
नेपाल राष्ट्र बैंकले यससम्बन्धी नीतिगत सुधार गरिसकेको तथा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एन्ड क्लियरिङ लिमिटेडले पनि आवश्यक व्यवस्था अघि बढाएका छन्।
‘यसमा लगानी गर्ने, पैसा भित्र्याउने सबै बन्दोबस्त भइसकेको छ । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले नीतिगत सुधार गरिसकेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पनि व्यवस्था अगाडि बढाइसकेका छन्,’ उनले भने।


