जाकार्ता, २७ असोज। आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले कर प्रणालीलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगसँगै करदाता सेवा सुधार, पारदर्शिता र निष्पक्षतामा जोड दिएका छन्।
इन्डोनेसियाको जकार्तामा मंगलबार सुरु भएको सातौँ बेल्ट एन्ड रोड इनिसिएटिभ ट्याक्स एडमिनिस्ट्रेसन कोअपरेसन फोरम (BRITACOF) को उद्घाटन समारोहमा मन्तव्य दिँदै भुसालले कर प्रशासनको काम राजस्व सङ्कलनमा मात्र सीमित नरहेको बताए। करदाताको अधिकार संरक्षण, कानुनको निष्पक्ष कार्यान्वयन र प्रभावकारी सेवा प्रवाहबाट कर प्रणालीप्रति जनविश्वास बढाउन सकिने उनको भनाइ छ।
‘स्मार्ट कर प्रणाली, साझा समृद्धि’ विषयमा आयोजित कार्यक्रममा उनले जटिल र अत्यधिक बोझिलो कर प्रणालीले लगानी निरुत्साहित गर्न तथा आर्थिक वृद्धिमा असर पार्न सक्ने बताए। सरल, पारदर्शी र पूर्वानुमान गर्न सकिने कर प्रणालीले स्वैच्छिक कर अनुपालन बढाउन र लगानीको वातावरण सुधार गर्न सहयोग पुग्ने उनले उल्लेख गरे।
भुसालका अनुसार स्मार्ट कर प्रणालीका लागि प्रविधि मात्रै पर्याप्त हुँदैन। उपयुक्त नीति, दक्ष जनशक्ति, सक्षम संस्था, प्रभावकारी सुशासन र निरन्तर सुधार पनि उत्तिकै आवश्यक छन्।
कर प्रशासनमा डिजिटल प्रविधिको उपयोग
भुसालले कृत्रिम बुद्धिमत्ता, तथ्याङ्क विश्लेषण, स्वचालन र डिजिटल प्लेटफर्मको विस्तारले कर प्रशासनको काम गर्ने तरिका परिवर्तन गरिरहेको बताए।
विद्युतीय बीजक, स्वचालित सेवा र तथ्याङ्क विश्लेषणको प्रयोगले करदाताको अनुपालन लागत घटाउन, सेवा सुधार गर्न र करसम्बन्धी जोखिम पहिचान गर्न सहयोग पुग्ने उनको भनाइ छ।
तर प्रविधिको प्रयोग गर्दा करदाताको विवरणको सुरक्षा, गोपनीयता, पारदर्शिता र जवाफदेहितालाई बेवास्ता गर्न नहुने उनले बताए। डिजिटल प्रणालीलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्नेमा पनि उनले जोड दिए।
डिजिटल अर्थतन्त्रले थप्यो कराधिकारको चुनौती
डिजिटल अर्थतन्त्र विस्तारसँगै अन्तर्राष्ट्रिय कर प्रणालीमा नयाँ चुनौती थपिएको भुसालले बताए। डिजिटल प्लेटफर्म, सीमापार सेवा र बौद्धिक सम्पत्तिसँग सम्बन्धित आर्थिक गतिविधि देशको भौगोलिक सीमाभन्दा बाहिर विस्तार भइरहेकाले कुन देशले कहाँ कर लगाउने भन्ने विषय जटिल बन्दै गएको उनको भनाइ छ।
देशहरूबीच समन्वय नहुँदा व्यवसायको कर अनुपालन लागत बढ्ने, लगानीमा अनिश्चितता सिर्जना हुने र दोहोरो कराधानको जोखिम बढ्न सक्ने उनले बताए। यसका लागि अन्तर्राष्ट्रिय सहकार्य र साझा समझदारी आवश्यक रहेको उनले उल्लेख गरे।
BRITACOF मा करदाता सेवा सुधारलाई प्राथमिकता
सातौँ BRITACOF मा कर प्रशासनको आधुनिकीकरण, डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ताको जिम्मेवार प्रयोग र कर अनुपालनको लागत घटाउने विषयमा छलफल हुँदैछ।
कार्यक्रममा कर प्रशासन उत्पादन पोर्टफोलियो (TAPP) २.० र करदाता सेवा उत्पादन पोर्टफोलियो (TSPP) २.० को विकास तथा रणनीतिक दिशाबारे पनि छलफल हुने भुसालको मन्तव्यमा उल्लेख छ। यी संरचनाले कर अनुपालन, जोखिम व्यवस्थापन, स्वचालन र करदाता सेवा सुधारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कर प्रशासनका कर्मचारीको क्षमता विकास, प्राविधिक तालिम र विभिन्न देशबीच अनुभव आदानप्रदानलाई पनि प्राथमिकता दिइएको छ। करसम्बन्धी व्यावहारिक समस्या समाधान गर्न व्यवसायी तथा निजी क्षेत्रसँग संवाद आवश्यक रहेको भुसालले बताए।
नेपालले अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने
भुसालले गत वर्ष काठमाडौंमा आयोजित छैटौँ BRITACOF ले कर प्रशासनलाई प्रभावकारी र करदातामैत्री बनाउने विषयमा महत्त्वपूर्ण छलफल गरेको स्मरण गरे।
नेपालले कर प्रशासन उत्पादन पोर्टफोलियो (TAPP) १.० र करदाता सेवा उत्पादन पोर्टफोलियो (TSPP) १.० अवलम्बन गरेको उल्लेख गर्दै उनले निष्पक्षता, कर न्याय, पारदर्शिता र प्रभावकारी सेवाले कर प्रणालीप्रति सार्वजनिक विश्वास निर्माण गर्ने बताए।
BRITACOM परिषद्को अध्यक्षताको जिम्मेवारी नेपालबाट इन्डोनेसियामा हस्तान्तरण हुँदै गर्दा नेपालले कर प्रशासन सुधार, संस्थागत क्षमता विकास र अन्तर्राष्ट्रिय सहकार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
सातौँ BRITACOF ले विभिन्न देशका कर प्रशासनबीच अनुभव र प्राविधिक ज्ञान आदानप्रदान गर्दै परिवर्तनशील विश्वव्यापी कर वातावरणका चुनौती सामना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


