काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले साेमबार पत्र जारी गर्दै ग्यास उद्योगबाट नियुक्त विक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
निगमका अनुसार कतिपय ग्यास उद्योगले नियुक्त गरेका विक्रेताले ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगर्ने गरेको गुनासो प्राप्त भएको छ। त्यसपछि निगमले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेतामार्फत हुने ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गरेको हो।
निगमले यसअघि पनि २०८१ साउन ३० र २०८१ माघ १० गते यस विषयमा सम्बन्धित संघलाई पत्राचार गरेको स्मरण गराएको छ। तर, ग्यास बिक्रीपछि बिलबिजक जारी नगर्ने गरेको गुनासो आएपछि निगमले पुनः निर्देशन दिएको हो।
बिलबिजक जारी गर्ने व्यवस्था कार्यान्वयनमा आएमा ग्यासको बिक्री कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्नेछ। साथै, उपभोक्ताले ग्यास खरिद गर्दा कारोबारको आधिकारिक प्रमाण प्राप्त गर्नेछन् भने बिक्रीको अभिलेख राख्न र कर प्रणालीलाई प्रभावकारी बनाउनसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।
निगमले सबै ग्यास उद्योगलाई आफ्ना विक्रेताबाट अनिवार्य रूपमा भ्याट बिल जारी गराई एलपी ग्यासको बिक्री वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ।


