काठमाडौं । कम्पनी ऐन, २०६३ अनुसार दर्ता भएका कम्पनीले पुरानो कर, शुल्क, दस्तुर, ब्याज र जरिबाना मिनाहा पाउने भएका छन्। त्यसका लागि कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा कानूनअनुसार तिर्नुपर्ने कर, शुल्क तथा दस्तुर बुझाउनुपर्नेछ भने पेश गर्नुपर्ने विवरण पनि २०८३ पुस मसान्तभित्र दाखिला गर्नुपर्नेछ।
सरकारले यसअघि असोज मसान्तसम्म दिएको समय बढाएर पुस मसान्तसम्म पुर्याएको हो। २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार कम्पनीहरूले थप दुई महिना समय पाएका छन्।
कस्तो कम्पनीले लाभ लिन सक्छन् ?
कानूनले तोकेको समयमा विवरण पेश नगरेका, नवीकरण नगरेका वा तिर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज र जरिबाना नबुझाएका कम्पनीले यो सुविधा लिन सक्छन्। कारोबार जारी राख्न चाहने र कम्पनी दर्ता खारेज गर्न चाहने दुवै प्रकारका कम्पनी यस व्यवस्थामा समेटिएका छन्।
कसरी लिने सुविधा ?
यो सुविधा लिन कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि कानूनअनुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाउनुपर्छ। साथै, पेश गर्नुपर्ने विवरण पनि २०८३ पुस मसान्तभित्र दाखिला गर्नुपर्छ।
तोकिएको समयभित्र यी प्रक्रिया पूरा गरेमा त्यसअघिको अवधिमा लागेको वा लाग्न सक्ने बाँकी कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुनेछ।
यस व्यवस्थाले लामो समयदेखि विवरण नबुझाएका, नवीकरण नगरेका वा बक्यौता रहेका कम्पनीलाई आफ्नो कानूनी प्रक्रिया पूरा गर्ने अवसर दिएको छ। कारोबार बन्द गर्न चाहने कम्पनीले पनि आवश्यक प्रक्रिया पूरा गरी दर्ता खारेज गर्ने बाटो रोज्न सक्नेछन्।


