काठमाडौं। नागरिक लगानी कोषले आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा १ अर्ब २५ करोड खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढि हो ।
गत आवको सोही अवधिमा कोषको नाफा १ अर्ब १० करोड रुपैयाँ रहेको थियो। यस वर्ष नाफा वृद्धि हुनुमा सेवा शुल्क तथा कमिसन आम्दानीमा देखिएको उल्लेखनीय वृद्धि प्रमुख कारण हो।
कोषको ब्याज आम्दानी अघिल्लो आवको ४४ करोड रुपैयाँबाट घटेर गत आवमा ३३ करोड रुपैयाँमा झरेको छ। तर सेवा शुल्क तथा कमिसन आम्दानी १ अर्ब ४१ करोड रुपैयाँबाट बढेर १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।
कोषले आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब ५८ अर्ब रुपैयाँ विभिन्न बैंकहरूमा मुद्दती निक्षेपको रूपमा राखेको छ। साथै, ३१ अर्ब रुपैयाँ विभिन्न संगठित संस्थाहरूका धितोपत्रहरूमा लगानी गरिएको छ भने ६० अर्ब रुपैयाँ सहभागी सापटी तथा आवास कर्जाका रूपमा प्रवाह गरिएको छ।
कोषको कुल कोष मौज्दात २ खर्ब ६६ अर्ब रुपैयाँ बराबर रहेको छ। यसले कोषको दीर्घकालीन लगानी क्षमता तथा वित्तीय स्थायित्व दर्शाउँछ। वित्तीय सूचकहरूको हिसाबले कोषको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ भने वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३४ पैसा कायम भएको छ। गत साता सेयर बजार बन्द हुँदा कोषको शेयर मूल्य प्रतिकित्ता १,९७१ रुपैयाँमा कारोबार भएको थियो।


