बारा । राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले राजस्व चुहाबट धरौटी रकममा गत आर्थिक वर्ष २०८१/०८२ मा अघिल्लो आर्थिक वर्ष भन्दा ९२.५० प्रतिशत बढी ११ करोड ७६ लाख ८५ हजार रुपैयाँ संकलन गरेको छ ।
कार्यालयले अवैध कारोबार, राजस्व चुहावट रोक्न कारवाही तीव्र बनाए पछि अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड ११ लाख ३५ हजार धरौटी जम्मा भए पनि गत आबमा ९२.५० प्रतिशत बढी रकम धरौटी प्राप्त गरेको हो ।
राजस्व चुहावट धरौटी, विदेशी विनिमय मुद्रा मागदाबी, भिसीटिएस, लिलाम प्रक्रियालगायतका काम कारवाहीबाट अघिल्लो भन्दा गत आवमा करोडौंको राजस्व संकलन भएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले बताए ।
अनुसन्धान प्रमुख शर्माले गत आवमा राजस्व चुहावट धरौटीलगायत विभिन्न कारवाहीका शीर्षकबाट राजस्व वृद्धि भएको जानकारी दिँदै बिल बिजक बिना गत असार मसान्तसम्म ५ करोड ४९ लाख १८ हजार बराबरको मालसामान पक्राउ गरी लिलाम बिक्री गरेको बताए ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयबाट ८४ लाख ८६ हजार बराबरको माल सामान मात्रै लिलाम बिक्री भएको प्रगति विवरणमा उल्लेख छ ।
कार्यालयले गत आवमा मात्र राजस्व चुहावट र विदेशी विनिमयमा २८ मुदामा ७६ करोड ३५ लाख ३६ हजार मागदाबी गरेको छ भने भिसीटिएस जरिवानावापत ९९ लाख ९८ हजार रकम जम्मा भएको उल्लेख छ ।
उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष हरि गौतमले अवैध तस्करी भएर आएका मालसान पक्राउ गरी राजस्व अनुसन्धानले गरेको कारवाही सकारात्मक भएपनि कतिपय अवस्थामा राजस्वको लक्ष्य पुर्याउने बहानामा अनावश्यक दुख दिने गरेको टिप्पणी गरे ।
‘राजस्व अनुसन्धानले बिल बिजक नभएको तथा बिल बिजक भन्दा बढी भएको सामानमा कडाई गर्नुपर्छ भन्ने नै हाम्रो माग हो, हामीले हरेक फोरमदेखि राजस्वका जिम्मेवार प्रतिनिधिहरुलाई बारम्बार भन्दै आएका छौं’ अध्यक्ष गौतम भन्छन्, ‘तर यहा भन्सार पास भएर निक्लेका मालबाहक भित्रका प्याकिङ सामान सिलबन्दी सामानसमेत हरेक स्थानमा प्रहरीले रोक्ने र राजस्व प्रशासन पठाउने मनपरी हुँदा व्यापार व्यवसाय गर्नेहरु पछिल्लो समय पीडित हुनु परेको छ ।’
अनुसन्धान प्रमुख शर्माले भने, ‘कार्यालयले नियमित काम काराही कानुनी रुपमा गर्ने गरेको छ, व्यापारी उद्योगीलाई नियतबस दुख दिने काम कार्यालयले गरेको छैन ।’


