झापा । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा काँकडभिट्टा नाकाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/०८२ को सोही अवधिको तुलनामा पाँच करोड २२ लाख अर्थात् ३.६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ ।
आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११.८० प्रतिशत अर्थात् सात करोड ९१ लाख ५३ हजारले बढेको उनले बताए ।
पेट्रोलियम पदार्थ आयातबाट ७४ करोड ८३ लाख ३२ हजार राजस्व संकलन भएको छ । उक्त अवधिमा ७७ करोड तीन लाखको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ ।
त्यसैगरी, २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, सात करोड तीन लाखको ७९२ किलोलिटर एटीएफ र एक करोड १३ लाख मूल्यको १२८ किलोलिटर मट्टितेल आयात भएको छ ।


